३७ वर्षअघि चोरी भएको मूर्ति अमेरिका बाट नेपाल फर्काइयो
बैशाख ३, काठमाण्डौ – नेपालको ललितपुरबाट चोरी भएर अमेरिकामा पुगेको दुर्लभ मूर्ति नेपालमा फिर्ता ल्याइएको छ ।
अमेरिकाको टेक्सास राज्यको डालस पुगेको बहुमूल्य लक्ष्मी-नारायणको मूर्ति बिहीवार काठमाण्डौ ल्याएर सार्वजनिक गरिएको हो । पाटनको पटको टोलमा रहेको लक्ष्मीनारायण मन्दिरबाट सन् १९८४ मा हराएको लक्ष्मीनारायण (वासुदेव कमलाजा) मूर्ति बिहीवार सार्वजनिक गरिएको हो।
लक्ष्मी नारायणको मूर्ति पुरातत्व विभागले जिम्मा लिएको छ भने सुरक्षितसँग राख्नको लागि पाटन सङ्ग्रहालयमा पठाएको छ । पुरातत्व विभागमा भएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको उपस्थितिमा विभागले मूर्तिको जिम्मा लिएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कोइरालाले सबैको लामो प्रयास र मेहनतपछि विदेशमा भएको मूर्ति नेपाल ल्याउन सफल भएको बताउनु भयो । अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतका विदेश अपराध अनुसन्धान कार्यालय, नेपाल प्रहरी, एफबीआई र डल्लास म्युजियम अफ आर्टको संयुक्त अनुसन्धानपछि लक्ष्मी(नारायणको मूर्ति फेला परेको हो । डल्लास म्युजियम अफ आर्टमा २०७७ साल मंसिरमा मूर्ति फेला परेको हो।


























