मदन भण्डारी र जीवराज आश्रितका हत्यारा पत्ता लगाउन नेता नेपालको माग

जेठ ३, काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितका हत्यारा पत्ता लगाउन माग गर्नुभएको छ ।

मदन आश्रित स्मृति दिवसको सन्दर्भमा श्रद्धाञ्जली दिँदै नेता नेपालले दासढुंगा जीप दुर्घटनामा निधन भएको २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर नआउनु दुस्खद् भएको भन्दै यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षसँग माग गर्नुभएको हो ।

उहाँले घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको पनि बताउनुभएको छ । जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो रहेको नेपालको भनाइ छ ।

मदन भण्डारीले देखाएको बाटो हिँड्नको लागि एकताबद्ध, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त भएको बताउँदै नेता नेपालले फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै जिम्मेवार भएर क्रान्तिलाई अघि लैजान सके मात्रै उहाँप्रतिको सम्मान हुने बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*