आज पनि एमाले कार्यदलको बैठक बस्दै
जेठ ५, काठमाण्डौ – नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलको बैठक आज पनि बस्दैछ । नेताहरुको कार्य व्यस्तताका कारण बैठक साँझ ७ बजे बस्नेछ ।
अर्थमन्त्री विष्णु पौडेल बजेट बनाउन व्यस्त हुनुहुन्छ भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल बुटवलबाट आउनुपर्ने भएकाले बैठक साँझ मात्रै बस्ने अध्यक्ष केपी शर्मा ओलीपक्षका तर्फबाट कार्यदलको नेतृत्व गरेका नेता सुवास नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो ।
हिजोको बैठकले पार्टीमा भ्रम सिर्जना हुने र एक अर्कालाई लक्षित गरेर आलोचना हुने काम नगर्न पार्टीका नेतारकार्यकर्तालाई अनुरोध गरेको थियो । आजको बैठकले भोलि हुने राष्ट्रियसभाको उप-चुनाव र कार्यदलको कार्यक्षेत्रबारे कार्यविधि बनाउनेछ ।
पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच विवाद बढ्दै गएर पार्टी फुटकै अवस्थामा पुग्न थालेपछि विवाद मिलाउन कार्यदल बनेको हो । माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको छ । ओली पक्षले भने पार्टीमा धेरै घटनाक्रमको विकास भइसकेको र माओवादी केन्द्रबाट समेत नेताहरु एमालेमा प्रवेश गरेकाले नयाँ ढंगले व्यवस्थापन गर्नुपर्ने बताउँदै आएको छ ।
पार्टीभित्रको विवाद मिलाउन ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल र नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको कार्यदल बनेको छ ।


























