आजदेखि सुरु भयो कक्षा १२ को परीक्षा
काठमाडौँ – कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण पटक–पटक स्थगित भएको परीक्षा अन्ततः बुधबारदेखि सुरु भएको हो ।
कक्षा १२ को परीक्षामा यो वर्ष देशभरबाट तीन लाख ७४ हजार १२५ विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा होम सेन्टर अर्थात विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिइरहेका छन् । देशभर चार हजार तीन सय १५ केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् ।
काठमाडौँका स्कुल–कलेजमा संक्रमण नियन्त्रणका सावधानीजन्य उपायसहित परीक्षा सुरु भएको छ । परीक्षा केन्द्रहरुमा स्यानिटाइजर, पिपिइसहितका सावधानीका सामग्रीहरु प्रयोग भएका छन् । परीक्षार्थीहरुले मास्क लगाएका छन् भने हेल्प डेस्क पनि राखिएको छ ।
























