रामेछापमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् ।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप बिहीबार बिहान ६ बजेतिर खुर्कोट(मन्थली सडकखण्डको हात्तीटार भीरबाट करिब तीन सय मिटर तल तामाकोशी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् ।

दुर्घटनामा घाइते भएको लाक्पाका १२ वर्षीय छोरा धावा शेर्पालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

तीव्र गतिमा आएको जीप साँघुरो सडकको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*