असोज दोस्रो साता देखि अग्रिम टिकट खुलाइने

काठमाडौँ – सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी असोज दोस्रो साताबाट अग्रिम टिकट खुलाउने भएको छ ।

असोज २१ गतेको घटस्थापनाभन्दा १०र११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ ।

अग्रिम टिकट खुलाउनका लागि पटकपटक छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए।

उनका अनुसार गत साता यातायात व्यवसायीसँग दुईतीन चरणमा छलफल भएका आधारमा आउँदो सातासम्म कति सङ्ख्यामा टिकट खुलाएर कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु¥याउने भनी निर्णय हुनेछ ।

सङ्घीय सरकारले पछिल्लो पटक गत असार २७ गते भाडादर समायोजन गरेको थियो । त्यसै आधारमा सबै प्रदेश सरकारले र स्थानीय तहले भाडा समायोजन गर्नुपर्नेमा अझै गरिसकेका छैनन् ।

व्यवसायीले भाडादर समायोजन चाँडो गर्न माग गर्दै आएका छन् । भाडा समयोजनको विषयले अग्रिम टिकट खुलाउन र यात्रुलाई समयमै घर पुग्न समस्या नहुने प्रवक्ता डा भुसालले बताए।

उनका अनुसार लामो दूरीका बाटामा सङ्घीय सरकारले निर्धारण गरेको नयाँ भाडादरका आधारमा हुने तथा मध्यम दूरीमा तत्काल समायोजन भएमा नयाँ भाडादर र नभएमा पुरानै भाडादरमा टिकट काटिनेछ ।

कोभिड सङ्क्रमणको जोखिम अझै रहेकाले त्यसको असर चाडपर्व लक्षित टिकटमा पर्ने देखिएको छ । जे जसरी भए पनि यात्रुलाई सजिलै घर जान पाउने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए।

कोभिडका कारण दैनिक एक हजार ५०० नयाँ सङ्क्रमित देखिइरहेकाले पनि समस्या हुन सक्ने भएकाले कुनै पनि ठाउँमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गर्न सक्ने महासचिव सिटौलाले बताए।

हरेक वर्ष चाडपर्व पहिले नै भाडा समायोजनका विषयमा चर्चा हुने गरेकामा यस वर्ष पनि कतिपय प्रदेश र स्थानीय सरकारले भाडा समायोजन नभएकाले चाँडो गर्न सम्बन्ध सरकारलाई महासङ्घले माग गर्दै आएको छ ।

लामो दूरीमा नयाँ भाडादर लागू भए पनि मध्यम दूरीमा के गर्ने भन्ने प्रश्न उब्जिएको जनाउँदै महासचिव सिटौलाले भने, “यहाँबाट एक नम्बर वा सात नम्बर प्रदेश जाने बसको भाडादर स्पष्ट छ तर वाग्मती प्रदेशकै सिन्धुपाल्चोक वा दोलखा जाने भाडादर कति गर्ने भन्ने अन्योल छ ।”

सामान्यावस्थामा दशैँतिहारभन्दा अघिको केही सातामा झण्डै २५ लाख यात्रु ओहोरदोहोर गर्ने भए पनि सङ्क्रमणका कारण त्यो सङ्ख्या यति हुन्छ भन्ने यकिन छैन । विद्यालय र कलेज नखुलेकाले कतिपय विद्यार्थी र अभिभावक गाउँमै रहेको, कतिपय व्यवसाय लामो समयसम्म ठप्प रहेकाले पनि दशैँमा सार्वजनिक सवारी साधनमार्फत हुने आवतजावत कम हुने आकलन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*