सभामुख सापकोटाविरुद्धको मुद्धा ‘हेर्न नमिल्ने’मा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्धा आज पनि ‘हेर्न नमिल्ने’मा परेको छ । बुधबार संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको भएपनि मुद्दा हेर्न नमिल्नेमा परेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा परेको थियो ।
अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए । उक्त मद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।


























