३३ किलो सुन तस्करी प्रकरण – गोरेसहित ६ जनालाई जन्म कैद , सबै प्रहरीले पाए उन्मुक्ति
काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ।
मंगलबार जिल्ला अदालत मोरङले सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
अदालतका श्रेस्तेदार टिकेन्द्र वीरजंग राणाका अनुसार जन्म कैदको सजाय तोकिनेमा गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी छन्।
यसैगरी राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ।
यसैगरी सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले उन्मुक्ति पाएका छन् । जिल्ला अदालत, मोरङले मंगलबार भरिया सनम हत्या प्रकरण र सुन तस्करीमा मुछिएका सबै प्रहरीले सफाइ दिएको छ ।
सफाइ पाउने प्रहरीहरुमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले सफाइ पाएका छन् ।
























