बाढीले विराटनगर महानगर क्षेत्र डुबानमा
मोरङ – केही दिनदेखि परेको अविरल वर्षाले विराटनगरका विभिन्न स्थान डुबानमा परेको छ। विराटनगर महानगरपालिका– ४ स्थित विमानस्थलसमेत डुबानमा परेको छ।
विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार विमानस्थल पश्चिममा रहेको केशलिया खोलामा आएको बाढी विमानस्थलमा पसेको हो। बाढीले विमानस्थलको धावनमार्ग, कर्मचारी निवास तथा टर्मिनल भवन डुबानमा परेको उनले जानकारी दिए।
मंगलबार विराटनगर आएको बुद्ध र श्री एयरलाइन्सको विमान समेत डुबानका कारण विमानस्थलमा रोकिएका छन्। दुइटै विमानले मंगलबार उडान गर्न नसकेपछि विमानस्थलमै राखिएको उनले बताए।
धावनमार्गमा अत्याधिक पानी जमेको हुँदा तत्काल विमानस्थल खुल्ने अवस्था नरहेको प्रमुख खरेलले जानकारी दिए। विमानस्थलमा पानी जमेपछि सुरक्षा निकाय तथा कर्मचारी कार्यालयमा भएका सरसमान सुरक्षित गर्नतर्फ लागेको उनको भनाइ छ।
यस क्रममा विमानस्थानबारे प्रदेशस्थित उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्री उत्तमकुमार बस्नेत र मोरङ जिल्ला प्रमुख काशीराज दाहाललाई समेत जानकारी गराइसकेको खरेलले जानकारी दिए।
वर्षासँगै महानगरका १९ वटै वडा प्रभावित भएको प्रमुख भीम पराजुलीले जानकारी दिए। बाढीले वडा नम्बर ९ र १० मा कम असर पुगेको बताएका मेयरले बाँकी सबै १७ वटा वडा बाढीबाट बढी प्रभावित भएको बताए।
वर्षासँगै महानगरको पूर्व सीमा भएर बग्ने सिंघिया खोलास्थित परोपकार घाट सुकुम्बासी बस्तीबाट ६ जना, सोही वडाको च्याम्बरबाट बालबालिकासहित ६ जनालाई महानगरपालिकासहित सुरक्षा निकाय, प्रशासनको संयुक्त पहलमा उद्धार गरिएको प्रमुख पराजुलीले बताए।
उनका अनुसार पूर्वमा सिंघिया खोला र पश्चिममा केशलिया खोलाको पानी उर्लिँदा महानगरका अधिकांश वडा जलमग्न भएका छन्। हाल विभिन्न वडाबाट उद्धार गरिएका सर्वसाधारणलाई वडाकै निगरानीमा विद्यालयहरुमा राखिएको मेयर पराजुलीले जानकारी दिए।
अविरल वर्षा र खोला उर्लिएर महानगरमा बाढी पसे पनि निर्माण गरिएका ड्रेनका कारण धेरै क्षति हुन नपाएको उनको भनाइ छ।
























