कात्तिक महिनाको विपद्का घटनाबाट मृत्यु हुनेको सँख्या १२१ पुग्यो
काठमाडौँ – यही कात्तिक महिनाको विपद्का घटनाबाट आजसम्म १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन्।
कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ। गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो। मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो।
वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको थियो। ठूला–ठूला पहिराले मानवीय क्षति बढी गराएको हो।
प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए। कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। हराइरहेका खोजी जारी रहेको र राहत तथा अस्याथी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ।
























