भेरोसेलको मौज्दात कम रहेकाले दोस्रो मात्रा लगाउनै पर्नेहरु मात्र दिनु – विभाग

काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोपमध्ये भेरोसेलको मौज्दात कम रहेकाले तत्कालका लागि दोस्रो मात्रा लगाउनै पर्नेहरुलाई मात्रै सो खोप उपलब्ध गराउन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ।

पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउने समय भएकाहरुलाई प्राथमिकतामा राखेर भेरोसेल खोप दिन विभागले आफ्ना मातहतका स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको हो।

पहिलो मात्रा खोप लगाउन आउनेहरुलाई अहिले कोभिशिल्ड–एस्ट्राजेनेका खोप दिन तथा भेरोसेलको बुस्टर मात्रालाई भन्दा दोस्रो मात्रा लगाउनै पर्नेहरुलाई प्राथमिकतामा राख्न भनिएको विभागले जनाएको छ।

विभागले केही दिनभित्रै भेरोसेलको थप खोप आउने भएकाले अभाव तात्कालिकमात्रै रहेको दाबी गरेको छ। अहिले अग्रपंक्तिमा खटिनेहरुलाई बुस्टर मात्रा खोप दिइएको छ। मौज्दात कम हुँदा भेरोसेलको बुस्टर मात्रा लगाउनेहरुले केही दिन पर्खिनु पर्ने देखिएको विभागको भनाइ छ।

कोभिशिल्डको मौज्दात भने रहेकाले पहिलो मात्रा लगाउन आउनेहरुलाई सोही खोप दिन विभागले भनेको हो । यस्तै कोभिशिल्डको बुस्टर मात्रा लगाउन पनि समस्या नरहेको जनाइएको छ।

पहिलो मात्रा खोप लगाउन आउनेलाई कोभिशिल्ड खोप दिने निर्णय विभागले बुधबार गरेको हो। सो निर्णय कार्यान्वयन गर्न विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयलाई भनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*