राष्ट्रिय सभा निर्वाचन वाग्मती प्रदेश अन्तर्गत हेटौंडामा मतदान जारी
हेटौंडा । राष्ट्रिय सभा सदस्यअन्तर्गत वाग्मती प्रदेशमा खाली रहेको दुई सिटका लागि आज हेटौंडामा मतदान जारी छ । आज हेटौंडा औद्योगित क्षेत्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । हेटौंडामा पानी परेपनि पालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यहरु मतदान गरिरहेका छन् । अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
हेटौंडामा दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । ‘प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने गरी दुईवटा मतदान केन्द्र निर्माण गरेर त्यही अनुसार मतदानको काम भइरहेको छ । मतदान केन्द्रमा अधिकृतसहित ८–८ जना गरी १६ जना कर्मचारी खटाइएको छ ।
‘मतदान केन्द्रका अनुसार मतपत्रको रङ पनि फरक–फरक रहेको छ । कोभिड–१९ महामारीको कारणले स्वास्थ्य सुरक्षामा केही चुनौती देखिए पनि यसको व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाएका छ ।
मतदान गर्न आउने मतदाताहरूले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने र कोरोना संक्रमित भए वा लक्षण देखिएका मतदातालाई छुट्टै व्यवस्थापन गरिएको छ । मतदान स्थलमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले हेल्प डेस्कसहित २ जना स्वास्थ्यकर्मी राखेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान प्रक्रिया बिहान ९ बजेबाट सुरु भएर दिउँसो ३ बजे टुंगिनेछ । ४ बजेपछि मतगणना सुरु गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्य बन्न ६ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुँदै छ । सत्तारुढ गठबन्धनका २ जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट २ जना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा ९एस० बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा रहेका छन् ।
सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा ९एस०, जनता समाजवादी पार्टी र जनमोर्चा रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेका छन् । मतदातामा प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३७ रहेका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेश सभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ । जसअनुसार वाग्मतीमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।


























