जनार्दन शर्माले भने – माओवादी पुनर्गठनबारे सोच्नुपर्ने बेला आएको छ 

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले माओवादीलाई पुनर्गठनबारे सोच्नुपर्ने बेला आएको बताएका छन् । देश माओवादीकै एजेन्डामा चलिरहेपनि पार्टी कमजोर भइरहेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने शर्माको भनाइ छ । शुक्रवार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शर्माले सबैभन्दा पहिला माओवादीभित्रको बेरोजगारी अन्त्य गर्नुपर्ने बताए ।

‘पहिले माओवादी भित्रको बेरोजगारीलाई अन्त्य गरेर मात्रै हाम्रो समग्र देशको बेरोजगारीको अन्त्य गर्न सक्छौँ,’ उनले भने, ‘पार्टीभित्रको बेरोजगारी अन्त्य गर्नका लागि सबै नेता, कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने हुन्छ । यो बाहेक माओवादीसँग अर्को विकल्प छैन ।’ शर्माले माओवादी कुनै सेल कमिटी नरहेकाले अब उत्पादनको सेल कमिटी हुनुपर्ने बताए । उनले थपे,‘कुनै पालिका कमिटी होइन माओवादी, पालिकाको उत्पादन कमिटी हुनुपर्छ भन्ने बुझाइलाई आत्मसात् गर्नुपर्ने छ ।’ वर्तमान अवस्थामा माओवादी र जनताबीच बेमेल रहेको माओवादीको निष्कर्ष छ ।

शर्माले आफू यो कार्यकालमा मन्त्री नहुने र पार्टी निर्माणमा लाग्ने कुरा चुनावताका नै बोलिसकेको बताए । शर्मा बिहीबार संगठन विभागको कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका थिए ।

कर्णालीमा वर्तमान मुख्यमन्त्री कायम, कांग्रेससँग सत्ता साझेदारी
विमानस्थलमा प्रदेश सरकारको भविष्यबारे सोधिएको प्रश्नमा शर्माले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा हुने स्पष्ट पारे । ‘कर्णालीमा एमाले आउट हुन्छ, माओवादी–कांग्रेसबीच सत्ता सहकार्य हुन्छ,’ शर्माले भने,‘भर्खरै मैले कांग्रेस संसदीय दलका नेता जीवन शाहीसँग पनि कुरा गरेको छु, अब केन्द्रले नै केही दिनमा यसको टुङ्गो लगाइदिन्छ ।’ केन्द्रले नै निर्णय गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनको भनाइ थियो ।

यद्यपि कर्णालीमा कांग्रेसले पनि नेतृत्वमा दाबी गरिरहेको छ । चुनावताका माओवादी अध्यक्ष प्रचण्ड हुम्ला पुगेर नै जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ रहने बचन दिएका थिए । शाहीले अहिले प्रदेशमा त्यही कुरालाई हतियार बनाइरहेका छन् । शर्माले भने अहिलेलाई मुख्यमन्त्रीमा शर्मा नै कायम रहने दाबी गरे । साथै शर्माले प्रदेशको सभामुखबारे भने अहिले त्यसैलाई कायम गरेर अघि बढ्ने बताए । प्रदेशमा माओवादीको समर्थनमा एमालेकी नन्दा गुरुङ सभामुख छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*