हेटौँडाका सबै वडामा एकैसाथ वृहत सरसफाइ अभियान सम्पन्न
हेटौंडा । ५६औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकामा शनिवार एकैसाथ १९ वटै वडामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। सप्ताहव्यापी वातावरण संरक्षण कार्यक्रम अन्तर्गत दोस्रो दिनको मुख्य कार्यक्रमका रूपमा गरिएको यस सरसफाइ अभियानमा नगरका गल्ली, चोक, सार्वजनिक स्थल, बजार क्षेत्र र विद्यालय आसपासका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सफा गरिएको हो।
कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको सहयोगमा, १९ वटै वडाको टोल विकास संस्थाको समन्वयमा तथा टोल विकास नगर समन्वय समितिको आयोजनामा सम्पन्न भएको हो । नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीका अनुसार हेटौंडालाई स्वच्छ, हरित र प्लाष्टिकमुक्त बनाउने उद्देश्यले टोल विकास संस्थाहरु लामो समयदेखि क्रियाशील छन् ।
“हामीले वातावरण संरक्षणको अभियानलाई समुदायमै पुगेर जगाउन खोजेका छौं । प्लाष्टिकजन्य प्रदूषणको चपेटामा परिरहेको हाम्रो नगरलाई स्वच्छ, सुरक्षित र हरियाली बनाउन सबै वडाबाट एकसाथ हातेमालो गर्दै यो अभियान सञ्चालन गरेका छौं,” अध्यक्ष अधिकारीले बताए ।
कार्यक्रममा टोल विकास संस्था, वडा समन्वय समिति, सामुदायिक वन समूह, स्काउट टोलहरु, नेपाल रेडक्रस सोसाइटी, सामुदायिक प्रहरी सेवा केन्द्र, महिला समूह, युवा क्लब लगायत विविध सामाजिक संघसंस्थाको उल्लेखनीय सहभागिता रह्यो ।
सप्ताहव्यापी वातावरण संरक्षण अभियानको पहिलो दिन उपमहानगरपालिकाको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो। अध्यक्ष अधिकारीका अनुसार अभियानको तेस्रो दिन भोलि आईतबार हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसमा ‘हेटौंडा सुन्दर वातावरण’ विषयक चित्रकला प्रतियोगिता तथा प्रकृति संवाद यात्रा २०८२ आयोजना गरिनेछ ।


























