३ नं. प्रदेशका मुख्यमन्त्री पौडेल चीन प्रस्थान
१७ असार , हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ५ दिने चीन भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । केही समय अगाडि भगिनी सम्बन्ध कायम भएको चिनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्रीको नेतृत्वमा मंगलबार बिहान ७ जनाको टोलि त्यसतर्फ प्रस्थान गरेको हो । दक्षिण एसियाली राष्ट्रहरुसङ्गको सम्बन्ध हेर्ने गान्सु प्रान्तको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरीएको छ । चिनको गान्सु प्रान्तको लान्झाउ शहरमा १८ गतेदेखि २१ गतेसम्म आयोजना हुने विविध कार्यक्रममा मुख्यमन्त्री पौडेलले सम्बोधन समेत गर्नुहुनेछ । तालिका अनुसार मुख्यमन्त्री पौडेलले डेभलपमेन्ट फोरम एन्ड कोरिडोर लजिस्टिक इन्डस्ट्री प्रोमोसन कार्यक्रममा सहभागि हुनुहुनेछ । १९ गते २५ औ चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्नुहुनेछ । सोही अवसरमा गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिअन सङ्ग भेट गर्नुहुने मुख्यमन्त्रीका स्वकीय सचीव अनुप पौडेलले जानकारी दिनुभयो । यस्तै २० गते सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिजमा सहभागी हुनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकन समेत गर्ने कार्यक्रम छ । २१ गते त्यहाका उद्योग, कृषि प्रदर्शनीको समेत अवलोकनको कार्यक्रम रहेको छ ।
यसै गरी सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्र तथा विद्युतिय सवारसंचालनका बिषयमा पनि थप छलफल हुने स्वकीय सचीव पौडेलले बताउनुभयो । गान्सुसङ्ग गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने बताउनुभयो । “चीनको अभूतपूर्व आर्थिक विकासबाट धेरै प्रभावित हामी छौं, त्यसैले पनि चिनको बिकासबाट धेरै कुरा सिक्न सक्छौ’’ –उहाँले भन्नू भयो । यो सम्बन्ध नेपाल र चीनबीचको विकास अनुभवको माध्यमबाट ऐतिहासिक सम्बन्धलाई बढावा दिन एक महत्वपूर्ण क्षेत्र हुन सक्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । टोलि २२ गते नेपाल फर्कने कार्यक्रम छ ।


























