स्थापना दिवसमा निवृत्त शिक्षक समाजद्वारा गुरु सम्मान तथा पुस्तक विमोचन
हेटौँडा । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले स्थापना दिवसको अवसरमा १६ जना ज्येष्ठ निवृत्त शिक्षकलाई सम्मान गर्दै ‘निसिम सुगन्ध’ पुस्तक विमोचन गरेको छ ।
गुरु पूर्णिमाका दिन स्थापना भएको समाजले बुधबार जिल्ला परिषद्, गुरु सम्मान तथा पुस्तक विमोचन कार्यक्रम आयोजना गर्दै शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्याएका निवृत्त शिक्षकहरूको योगदानको कदर गरेको हो ।
कार्यक्रममा १६ जना ज्येष्ठ निवृत्त शिक्षकलाई सम्मान गरिएको थियो। शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएका तीन जना स्वर्गीय शिक्षकका परिवारलाई पनि सम्मान गरिएको समाजले जनाएको छ । त्यस्तै, उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै निवृत्त शिक्षक समाज थाहानगर कमिटीका अध्यक्ष कृष्णकुमार कार्कीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
यसै अवसरमा समाजद्वारा प्रकाशित ‘निसिम सुगन्ध’ पुस्तकको विमोचन गरिएको छ । समाजले पुस्तकले निवृत्त शिक्षकका अनुभव, सिर्जना तथा समाजका गतिविधिलाई दस्तावेजीकरण गर्ने विश्वास व्यक्त गरेको छ ।
समाजका अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव अभिमन्यु गौतम प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य रमेश लामिछाने र रमेश मोहन अधिकारी, केन्द्रीय प्रतिनिधि शिवदयाल यादव र अर्जुन पोखरेल, सल्लाहकार वनमाली सुवेदी, मोहन शर्मा, खड्गबहादुर पुलामी, अरुण खतिवडा, पद्मा पौडेल, ऋषिराम पोखरेल, शम्भु पौडेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष दाहालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजका गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए। कोषाध्यक्ष शरदकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय विवरण सार्वजनिक गरेका थिए ।






















