नेपालमा डेंगुबाट २ जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो समय डेंगुको सङ्क्रमण बढ्दो छ ।
डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ ।
हालसम्म २ जनाको डेंगु संक्रमणबाट मृत्यु भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगु संक्रमणबाट झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको हो ।
केही दिनअघि डेंगु संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको थियो भने त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डेंगु सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । नेपालका ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै दुई सय ८७ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।
सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु सङ्क्रमण भएकोमा २० जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०२२ मा ५४ हजार ७८४ जनामध्ये ८८ जनाको मृत्यु भएको थियो ।