बकैया गाउँपालिकाको ९१ करोड ७२ लाखको बजेट सार्वजनिक

 

हेटौंडा । पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको एघारौँ गाउँसभामा उपाध्यक्ष भक्त बहादुर खत्रीले सोमबार प्रस्तुत गरेकाे बजेटमा कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

नयाँ आर्थिक वर्षको बजेट चालु वर्षको तुलनामा १ करोड ८७ लाख ४९ हजार रुपैयाँले कम हो । चालु आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले ९३ करोड ५९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, संघीय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत ५८ करोड ९१ लाख ६ हजार र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

कुल बजेटमध्ये २८ करोड ६ लाख ९१ हजार पूँजीगत खर्चतर्फ र ६३ करोड ६५ लाख ५९ हजार चालु खर्चतर्फ विनियोजन गरिएको छ। त्यस्तै, नेपाल सरकारबाट ३६ करोड ६८ लाख र बागमती प्रदेश सरकारबाट २ करोड ९५ लाख ५० हजार सशर्त अनुदानसमेत प्राप्त हुने उल्लेख गरिएको छ ।

गाउँपालिकाले पूर्वाधार विकासमा ५ करोड, पोषणमैत्री स्थानीय तह घोषणाका लागि ७५ लाख, चिस्यान केन्द्र निर्माणमा ६५ लाख, तथा प्रत्येक वडामा समानुपातिक विकासका लागि ४० लाखका दरले ४ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । कार्यपालिका सदस्यहरूलाई ८ लाखका दरले ४८ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड, सो ग्रामको भौतिक संरचना निर्माणका लागि २ करोड ५० लाख, र कोल्ड स्टोर निर्माणमा अनुदानसहित १ करोड ३० लाख बजेट छुट्याइएको छ ।

गाउँसभामा पालिका अध्यक्ष धर्मराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*