बिहारमा भाजपा र एनडिएले दुईतिहाइ सिट जित्यो

भारतको बिहार राज्यको विधान सभाका लागि भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र नीतीश कुमार नेतृत्वको जनता दल (युनाइटेड) अर्थात् जेडियू सम्मिलित नेसनल डेमोक्रेटिक एलाइन्स (एनडिए)ले दुईतिहाइ सिट जितेको छ । राज्यको २४३ सिटका लागि भएको मतदानमा एनडिएले २०२ सिटमा जित हासिल गरेको छ । उसो त चुनावलगत्तै जारी एक्जिट पोलले अहिले पनि बिहारमा शासन गरिरहेको सत्तारूढ गठबन्धनले नै जित्ने देखाएको थियो । तर, एनडिएले मतपरिणाममा अधिकांश एक्जिट पोलले प्रक्षेपण गरेभन्दा बढी सिट जितेको छ ।

निर्वाचन आयोगका अनुसार भाजपाले ८९ तथा नीतीश नेतृत्वको जेडियूले ८५ सिट जितेको छ । भाजपा पहिलो पार्टी भएको छ, जेडियू दोस्रो, तेजिवी यादव नेतृत्वको आरजेडी २५ सिट जितेर तेस्रो, चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टी (रामविलास) १९ सिट जितेर चौथो भएको छ । भारतीय नेसनल कंग्रेस ६ सिटसहित बिहारमा पाँचौँ दल भएको छ ।

निर्वाचन आयोगका अनुसार दुई कम्युनिस्ट पार्टीले तीन सिट जितेका छन् । भाकपा माले लिबरेसनले दुई र भाकपा माक्र्सवादीले एक सिट जितेका छन् । उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मायावती नेतृत्वको बहुजन समाज पार्टीले एक सिट जितेको छ । प्रशान्त किशोरको जनस्वराजले एउटा सिट पनि जित्न सकेन । चुनावी रणनीतिकारका रूपमा विगतमा धेरै दललाई चुनाव जिताएका किशोर आफैँ भने असफल ठहरिएका छन् ।

बिहार चुनावको मुख्य प्रतिस्पर्धा नितिश कुमारको जेडीयु र तेजस्वी यादव नेतृत्वको आरजेडी बीच थियो । हिन्दुस्तान टाइम्सका अनुसार गठबन्धनले उनलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने हो भने अहिलेका मुख्यमन्त्री नितिश कुमार दशौं कार्यकालका लागि मुख्यमन्त्री हुनेछन् । २४३ सदस्यीय बिहार विधानसभा चुनाव दुई चरण नोभेम्बर ६ र नोभेम्बर ११ मा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*