हेटौंडामा अनेरास्ववियुको रक्तदान, २७ जनाले गरे रगतदान

हेटौँडा । ६२ औँ विद्यार्थी दिवसको अवसरमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर जिल्ला कमिटीले हेटौँडामा रक्तदान कार्यक्रम गरेको छ । शुक्रवार हेटौँडा–४ स्थित हेटौँडा क्याम्पस परिसरमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेका हुन् ।

अनेरास्ववियु हेटौँडा क्याम्पस कमिटीको व्यवस्थापनमा भएको कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थी, पूर्व क्याम्पस प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूले रक्तदान गरेको क्याम्पस कमिटी अध्यक्ष नितेस भण्डारीले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा बिरामीका लागि रगतको अभाव भएको जनगुनासो बढेपछि तत्काल राहत पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अनेरास्ववियु मकवानपुरका जिल्ला संयोजक नवराज पौडेलले बताए ।

जिल्ला संयोजक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना प्रमुख अतिथि रहेका थिए । यस्तै, विशिष्ट अतिथिका रूपमा एमाले जनसंगठन विभाग प्रमुख सन्तोष पौडेल उपस्थित थिए ।

कार्यक्रममा एमाले विद्यार्थी फाँट इन्चार्ज आकाश अधिकारी र अनेरास्ववियु बागमती प्रदेश इन्चार्ज भुवन मैनाली लगायतका नेताहरूको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*