वडाध्यक्ष कप अन्डर-१६ फुटबलको उपाधि शान्तिचोकलाई
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ को वडा बाल सञ्जालद्वारा आयोजित वडाध्यक्ष कप अन्डर–१६ फुटबल प्रतियोगिताको उपाधि शान्तिचोक टोल विकास संस्थाले जितेको छ ।
आइतबार सरस्वतीको मितेरी चौरमा सम्पन्न फाइनल खेलमा शान्तिचोक टोल विकास संस्थाले डाङ्डुङ्गे टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा वडा नम्बर ११ का १२ वटा टोल विकास संस्थाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
वडाभित्रका बालबालिकामा खेलप्रति रुचि बढाउँदै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विजेता शान्तिचोक टोल विकास संस्थाले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता डाङ्डुङ्गे टोल विकास संस्थाले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
क्याप्टेन डोल्सिङ घलेको संयोजकत्व तथा हेटौंडा ११ नम्बर वडा बाल सञ्जालका अध्यक्ष आचल सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष जुना दाहाल, वडा सदस्यहरू संजय बिडारी, गोपिनी सापकोटा, विकास नेपाल र गीता सुनारलगायतको आतिथ्यता रहेको थियो ।

























