हेटौंडा-१८ मा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने
हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडीमा आगामी असार १३ गते शनिबार निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । टोल विकास संस्था स्थापना भएको २६ औँ वर्ष पूरा भएको अवसरमा स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो ।
टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा-११ को सह–आयोजनामा तथा मकवानपुर सहकारी अस्पतालको समन्वयमा शिविर सञ्चालन हुन लागेको हो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १८ को सहयोग तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–१८ को व्यवस्थापन रहनेछ ।
शिबिर तयारीका लागि आयोजित बैठकमा हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष अनिल कुमार बानियाँ, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारी, उपमहासचिव देव कुमार श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका सचिव अर्जुन प्रसाद बिडारी, जनसम्पर्क अधिकृत रोयल बानियाँ, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–१८ की अध्यक्ष विमला बिसुङ्खे लगायत विभिन्न टोल विकास संस्थाका पदाधिकारी, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो ।
बैठकमा बोल्दै टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले समुदायको स्वास्थ्य अवस्था सुधार गर्न तथा विशेषज्ञ स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्याउन शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले टोल विकास संस्थाहरूलाई घरघरमा सूचना पुर्याई अधिकतम नागरिकको सहभागिता सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी वडा अध्यक्ष अनिल कुमार बानियाँले स्वास्थ्य नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै वडा कार्यालयले सामाजिक तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले शिविरबाट विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा आर्थिक रूपमा कमजोर नागरिकहरू लाभान्वित हुने विश्वास व्यक्त गर्दै सबै वडावासीलाई कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो ।
आगामी २०८३ असार १३ गते शनिबार बिहान ८ बजेदेखि हेटौंडा–१८ स्थित ज्योति उच्च माध्यमिक विद्यालय, हर्नामाडीमा सञ्चालन हुने शिविरमा मुटुरोग, हाडजोर्नी तथा नसा रोग, बालरोग, युरोलोजी, स्त्री तथा प्रसूति रोग लगायतका विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। साथै आवश्यक औषधि निःशुल्क वितरण गरिनुका साथै रक्तचाप, मधुमेह लगायतका आधारभूत स्वास्थ्य परीक्षण सेवासमेत उपलब्ध गराइनेछ।
आयोजकले हेटौंडा–१८ भित्रका सम्पूर्ण टोल विकास संस्था, स्थानीय संघसंस्था तथा सर्वसाधारण नागरिकलाई शिविरमा उपस्थित भई विशेषज्ञ स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेका छन्।
























