टिकटकमा लोकदोहोरी प्रतियोगिता,प्रथम हुनेले ३१ हजार रुपैयाँ पाउने

काठमाडौं ।  पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमार्फत ‘हाम्रो लुकिरहेको प्रतिभाको खोजी’ संस्थाले प्रतिस्पर्धात्मक लोकदोहोरी प्रतियोगिता सञ्चालन गरिरहेको छ । साउन २२ गतेदेखि सुरु भएको प्रतियोगिता ‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन, कला र गलाको उत्थान हाम्रो अभियान’ भन्ने नारासहित सञ्चालन भइरहेको हो ।

‘हाम्रो लुकिरहेको प्रतिभाको खोजी’ नामक टिकटक आईडीमार्फत प्रत्यक्ष प्रसारण हुँदै आएको प्रतियोगितामा देश तथा विदेशमा रहेका नेपाली प्रतिभाहरू सहभागी भएका छन् ।

संस्थाका संस्थापक पारस बुढाका अनुसार नेपाली लोकगीत तथा संगीतको संरक्षणसँगै गाउँ–बस्तीमा लुकेर रहेका प्रतिभालाई खोजी गरी उनीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । सुर्खेत घर भएका बुढा हाल वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन् ।

संस्थाले वर्षमा दुईपटक लोकदोहोरी प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसअघि नौ वटा सिजन सम्पन्न गरिसकेको संस्थाले अहिले दशौँ सिजन सञ्चालन गरिरहेको जनाएको छ ।

संस्थाका अध्यक्ष सुन्दर खड्काको सभाध्यक्षता तथा समाजसेवी एवं सहयोगी खुशी थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि प्रमुख अतिथि खुशी थापा, व्यवस्थापक तारादेव डाँगी र सल्लाहकार मिलन थापाले जनही ५० हजार रुपैयाँ सहयोग गरेका छन् । थापा भोजपुर घर भई हाल अमेरिकामा, डाँगी सल्यान घर भई हाल अमेरिका तथा थापा बागलुङ घर भई हाल पोर्चुगलमा रहेका छन् ।

त्यस्तै, कार्यक्रमका अध्यक्ष सुन्दर खड्काले प्रथम पुरस्कारका लागि सहयोग गरेका छन् । चितवन घर भई हाल अस्ट्रेलियामा रहेका मनिष ढकालले तेस्रो पुरस्कारका लागि सहयोग गरेका छन् भने भोजपुर घर भई हाल कतारमा रहेका नवराज मास्केले ३ हजार रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको निर्णायकमा नारायण न्यौपाने, गोमा ओली र बिमा कुमारी अनुरागी रहेका छन् । प्रतियोगितामा कुल १२६ जना सहभागी भएका थिए । अडिसनबाट ५२ जना प्रतिस्पर्धी दोस्रो चरणका लागि छनोट भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले ३१ हजार रुपैयाँ, द्वितीय हुनेले २१ हजार रुपैयाँ र तृतीय हुनेले ११ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, सान्त्वना हुने प्रतिस्पर्धीलाई ८ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सञ्चालन मल्लिका गुरुङ, नवीन डीसी, शान्त सेती मगर र गोरख डाँगीले गरिरहेका छन् । प्रतियोगिता हरेक दिन नेपाली समयअनुसार साँझ ७ बजेदेखि राति ११ बजेसम्म टिकटकमार्फत प्रत्यक्ष सञ्चालन हुँदै आएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*