तत्काल संसद अधिवेशन बोउनु पर्छ – कांग्रेस नेता सिंह
काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नपाएको उनको भनाइ छ ।
काठमाडौँको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै नेता सिंहले चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गरे ।
‘बजेट सेसन अपरझट, विधि प्रक्रिया पूरा नगरिकन स्थगित गरियो’ नेता सिंहले भने, ‘अब संसदको सेसन यो सरकारले चाँडै नै आह्वान गर्नेतिर लाग्नुपर्छ ।’
जनप्रतिनिधिहरुले जनताका दुःख दर्दहरु र सरकारले गर्न नसकेका कामहरु संसदमा उठाएर सरकारलाई काम गर्न बाध्य बनाउनतिर लाग्नुपर्ने उनले बताए । नेता सिंहले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्ने पनि बताए ।
ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको बताए ।
























