मकवानपुरगढी दरबार घुम्न अब शुल्क तिर्नुपर्ने
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाँउपालिकामा रहेको नेपालको ऐतिहासिक गढी मध्ये सबैभन्दा ठूलो र पुरानो मकवानपुरगढी दरबार घुम्न शुल्क तिर्नुपर्ने भएको छ । मंसिर १३ गतेबाट लागु हुनेगरि गाँउपालिकाले शुल्क उठाउन ठेक्का सम्झौता गरिसकेको छ । त्यसअघिसम्म दरबार क्षेत्र घुम्न कुनै शुल्क तिर्नुपर्ने थिएन् । यसवर्षदेखि मकवानपुरगढी गाउँपालिका कार्यालयले दरबार क्षेत्र घुम्न जाने पर्यटकसँग शुल्क लिन थालेको हो ।
गाउँपालिकाले ठेक्का मार्फत् शुल्क उठाउन सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताए । उनका अनुसार २०७७ मंसिरबाट असारसम्मका लागि १३ लाखमा ठेक्का दिइएको छ । दरबार क्षेत्रको सरसफाई, स्तरउन्न्ती, पर्यटकमैत्री बनाउनका लागि घुम्न आउने पर्यटकसँग थोरै रकम लिने निर्णय गरिएको पुडासैनीले जानकारी दिए ।
दरबार क्षेत्र घुम्न जाने स्वदेशी पर्यटकले १५ रुपैयाँ, विदेशीले ५० रुपैयाँ, साना सवारीसाधन पार्किङको १० रुपैयाँ, ठूला सवारीसाधन पार्किङको एकसय रुपैयाँ तोकिएको छ । यसैगरी त्यही पकाएर खाने पिकनिकका लागि एक हजार र ड्राइ पिकनिकका लागि पाँचसय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । दरबार क्षेत्रमा फिल्म सुटिङका लागि तीन हजार पाँचसय र म्युजिक भिडियो सुटिङका लागि दुई हजार शुल्क तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुडासैनीले बताए ।
गाउँपालिकाले विजयोत्सव, तीज, ठूलो एकादशी र कृष्णजन्माष्टमीमा भने स्थानीयवासीसँग शुल्क नलिने जनाएको छ । परम्परादेखि स्थानीयले उक्त चाडपर्वमा दरबार भित्र रहेको कृष्णको मन्दिरमा पूजा आरधाना गर्दै आएकाले शुल्क छुट गरिएको पुडासैनीले जानकारी दिए । गढी दरबार क्षेत्रमा प्रवेश शुल्क लगाउने गाउँपालिकाको निर्णय खारेज गर्न विभिन्न राजनीतिक दल र स्थानीयले ध्यानाकर्षण गराउँदै विरोध गरेका थिए । विरोधका बाबजुद पनि गाउँपालिको शुल्क लिने निर्णय कार्यान्वयन गरेको हो ।
























