चम्कियो सुन बजार, माग धान्न मुश्किल

काठमाडौं । सुन बजारमा गुमेको चमक बिहेको लगनका कारण फिर्ता भएको व्यवसायीहरुले बताएका छन् । मूल्यमा तीव्र उतार चढाव देखिए पनि दैनिक ४० किलोसम्म सुनको बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

माग बढेसंगै बजारमा सुनको अभाव भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । एक सातामा सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढेको छ ।

मंगलबारदेखि निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रबार पनि तोलामा तीन सय रुपैयाँले बढेको छ । आजको कारोबारका लागि छापावल सुनको भाउ तोलामा ९२ हजार ९ सय र तेजाबी सुनको भाउ ९२ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावल सुन ९२ हजार ९ सय र तेजाबी ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि साताभर बढ्दो क्रममा रह्यो । बिहीबार १२ सय पाँच रुपैयाँमा कारोबार भएको प्रतितोता चाँदीको भाउ शुक्रबार पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँ तोकिएको छ ।

कोरोना र लकडाउनका कारण सिथिल बनेको सुन बजारमा मंसिर लागेसँगै पुरानो चमक फर्केको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहेको लगनले गर्दा जिल्ला नगरसहित देशैभरबाट सुनको माग अत्यधिक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘सुनको कारोबारमा चैत पछि गत वर्ष जस्तै चमक छाएको छ, यो महिनाभर दैनिक ३० देखि ४० किलोसम्म सुनको बिक्री पुग्ने अनुमान गरेका छौँ,’ बज्राचार्यले भने ।

मूल्यमा सामान्य उतार चढाब देखिए पनि आवश्यकताकै कारण उपभोक्ताले सुन खरिद गरिरहेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*