नेकपा बैठक लक्षित गरी धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकलाई लक्षित गर्दै पार्टी कार्यालय धुम्बाराही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्बन्धित नेताबाहेक सञ्चारकर्मीलाई समेत पार्टी कार्यालयमा प्रवेश दिइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिका बीच आइतबार पार्टी कार्यालयमा नेकपा स्थायी समिति बैठक बस्न लागेको हो ।

बैठकमा यसअघि अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव पेश भइ छलफलमा जाने बताइएको छ । तर, पार्टी अध्यक्ष ओली स्थायी समिति बैठकको विपक्षमा रहेकाले आजको बैठक प्रभावित हुने सम्भावना पनि उत्तिकै छ ।

शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्र्रस्तावहरु स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइने छ ।

शनिबारको सचिवालय बैठकमा ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*