प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुभएके हो ।
भोलि (मंगलबार) विहान ११ बजे बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल हुने स्रोतको भनाइ छ ।
समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ ।
नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका बोलाउनुभएको थियो । त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।
























