बर्तमान सरकारको कारण राजावादी सक्रिय भए – शेरबहादुर देउवा
हेटौडा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारको कमजोरी र विसंगतिका कारण नेपालमा राजावादीहरु मौलाएको आरोप लगाउनु भएको छ ।
उहाँले देशभरका सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै कराउने हिम्मत कहाँबाट आयो भन्ने प्रश्न गर्दै यो मुलुकमा फर्केर पनि राजा आउने भ्रम नपाल्न सबैलाई आग्रह पनि गर्नु भयो । सरकारविरूद्ध शक्ति प्रदर्शन गर्ने क्रममा आज मकवानपुरको हेटौडामा भएको प्रदर्शनमा सभापति देउवाले आफूले प्रजातन्त्रका लागि लड्दा राजाले थुनेर राखेको स्मरण गराउनु भयो ।
राजालाई कांग्रेसले पटकपटक ल्याएको पनि हो तर राजसंस्था नेपालमा प्रजातन्त्र मौलाएको हुर्केको देखि नसहने भएकाले अब यो मुलुकमा राजसंस्थाको पुर्नस्थापना हुन काँग्रेसले नदिने बताउनुभयो ।
वर्तमान कम्युनिष्ट सरकारको कमजोरी, भ्रष्टाचारी प्रवृति र मनपरितन्त्रको कारण नै सडकमा राजा आऊ, देश बचाऊ भन्ने नारा गुञ्जिएको बताउँदै अब यो सरकारविरुद्ध पनि सोच्नु पर्ने बेला भएको चेतावनी दिनुभयो ।
























