बाध्य भएर संसद विघटनको निर्णयमा पुगेको हु – प्रधानमन्त्री ओली

काठमाडौँ – आफूलाई जनादेश अनुसार काम गर्न नदिएको र पार्टी एकतालाई पनि पूर्ण गर्न नदिएकाले बाध्य भएर संसद विघटनको निर्णयमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय सांसदहरुसँग बताएका छन् ।

बालुवाटारमा भएको विघटित संसदका आफू पक्षीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो हात बाँधेर काम गर्न नदिएकाले बाध्य भएर पछिल्लो निर्णयमा पुगेको बताएका हुन् ।

भेलामा सहभागी नेकपा नेता निरुदेवी पालले प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै भनिन्, ‘हामीले जनतासँग पाँच वर्षको स्थायी सरकारका लागि जनादेश मागेका थियौँ समृद्धि र विकासको नारासहित । सो अनुसार मलाई काम गर्न दिइएन । त्यसले अब जनतासँग माफी मागेर संसद विघटनको कारण स्पष्ट पारी मत माग्न जानु होला ।’

राष्ट्रपति विरुद्ध महाअभियोग तथा आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएकाले बाध्य भएर संसद विघटन गरेको ओलीले बताएका छन् ।

नेता पालले स्थायी कमिटिले प्रधानमन्त्रीलाई कारवाही गर्ने भनि गरेको निर्णय पार्टीको विधान विपरित रहेको बताएकी छन् ।

उनले भनिन्, ‘विधानमा बहुमत र अल्पमतको परिकल्पना भएको छैन । अहिले पनि पार्टीको प्रथम अध्यक्ष ओली नै हो । अर्को समूहले गरेको कारवाहीको निर्णय वैध छैन । हामी सो समूहले बोलाएको मंगलबारको केन्द्रीय समिति बैठकमा जाँदैनौँ । त्यसको निर्णय पनि मान्दैनौँ ।’ उनले पार्टी नफुटोस् भन्ने कामना आफूहरुको पनि रहेको बताइन् ।

बालुवाटारमा भएको भेलामा प्रधानमन्त्रीसँगै महासचिव विष्णु पौडेल तथा स्थायी समिति सदस्य लेखराज भट्टले समेत विघटनको कारणसहित जनतासँग माफी माग्दै जनमतका लागि जान निर्देशन दिएको नेता पालले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*