संसद विघटन विरुद्धको रिटमा प्रधानन्यायाधीशसहितको पेशी तोकियो
काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक पेशी तोकिएको छ ।
रिटहरुको सुनुवाईका लागि तय भएको संवैधानिक इजलाशमा प्रधानन्यायाधीश जबरासँगै न्यायाधीशरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी रहेको पेशी तोकिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलाशमा बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो । सोही अनुसार शुक्रबार संवैधानिक इजलाशमा सबै रिटको सुनुवाई हुन लागेको हो ।
प्रधानन्यायाधीश जबराको एकल इजलाशले अन्तरिम आदेश नदिइ बुधबार सुनुवाई भएका १२ सहित थप एक रिटको एक साथ संवैधानिक इजलाशमा सुनुवाई गर्ने निर्णय गरेको थियो ।
यसअघि गएको बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, रिट निवेदक चार सांसदको तर्फबाट अधिवक्ता गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपानेसहितले बहस गरेका थिए ।
वकिलहरुले मुद्दाको सुनुवाईका लागि बृहत इजलास गठन गर्न माग गरे पनि प्रधानन्यायाधीशले अस्वीकार गरेर संवैधानिक इजलाशमा पठाएका हुन् ।
प्रधानन्यायाधीश राणाले संविधानको धारासँग सम्बन्धी भएकाले संवैधानिक प्रश्न रहेको भन्दै पूर्ण बृहत इजलाश नभई संवैधानिक इजलाशकै क्षेत्राधिकारभित्र पर्ने बताएका थिए ।
वकिलहरुले भने यसअघि २०४७ को संविधान अनुसार संसद विघटन हुँदा संवैधानिक इजलाशसहितको बृहत इजलासमा सुनुवाई भएकाले अहिले पनि सोही अनुसार गर्न माग गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार प्रतिनिधिसभा भंग गरेकी थिइन् । त्यसपछि विघटनको विरुद्धमा सर्वोच्चमा रिट परेका हुन् भने आन्दोलन पनि भइरहेको छ । विघटनकै कम्पनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एकता प्रक्रिया पूरा नहुँदै विभाजित भएको छ ।
























