नेकपाको विवादले प्रदेश १ को सरकार संकटमा
पुस १७, मोरङ । नेकपाभित्रको विवादले प्रदेश १ को सरकार संकटमा परेको छ । प्रचण्ड – नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता गराएसँगै सुरु भएको प्रदेश १ को विवाद अहिले संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउने निर्णयसम्म पुगेको छ ।
बिहीबार प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेतामा राईलाई हटाएर भीमप्रसाद आचार्यलाई दलको नेता चयन गर्यो । प्रदेश १ मा नेकपाका ६७ सांसद रहेकामा ३७ जना सांसदले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । हिजोको बैठकमा भने ३६ जना उपस्थित भएका थिए ।
यस्तै मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गर्नुभएको छ । मुख्यमन्त्री शेरधन राईले संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा निलम्बन गर्नु भएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो । स्पष्टीकरण सोधिएकामध्ये १५ जनालाई संसदबाट निलम्बन गरिएको प्रमुख सचेतक राजभण्डारीले बताउनुभयो ।
आइतबार ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर थिए । त्यसपछि ती सांसदहरु गाउँ फर्किए । त्यही दिन १९ गतेलाई संसदीय दलको बैठक बोलाउने सहमति पनि भएको थियो । तर १४ गते मंगलबारको मितिमा सूचना निकालेर १५ गते संसदीय दलको आकस्मिक बैठक बोलाइयो । बिहीबार १६ गते मात्र सूचना सार्वजनिक भयो र संसद सचिवालयमा मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाउने ब्यहोराको पत्र पठाएर दर्ता पनि भयो । त्यसपछि नेकपाभित्र असन्तुष्टि र ध्रुवीकरण तीव्र भयो ।
संसदीय दलको बैठक बसेको भनिएको बुधबार बिहान ९ बजेको समयमा धेरै सांसदहरु विराटनगरमा थिएनन् । संसदीय दलको बैठक बसेर मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएको खबर बिहीबार दिउँसो मात्र सञ्चारमाध्यमले जानकारी पाएका थिए ।संसदीय दलको बैठकको बारेमा थप जानकारी लिन धनकुटाकी सांसद कुशुमकुमारी श्रेष्ठलाई सोध्दा उहाँ धनकुटाको पाख्रीबासमा हुनुहुन्थ्यो । १९ गते मात्र संसदीय दलको बैठक बोलाइएकाले बैठकबारे जानकारी नभएको उहाँले बताउनुभयो ।अविश्वासको प्रस्ताव दर्ता गर्नेमध्येका एक प्रचण्ड(नेपाल समूहका सांसद मोहनकुमार खड्का ओखलढुंगाको एउटा कार्यक्रममा हुनुहुन्थ्यो । संसदीय दलको बैठक १९ गते बोलाइएकाले बैठकको बारेमा जानकारी नै नभएको उहाँको पनि प्रतिक्रिया थियो ।
यसबारे जानकारी लिनको लागि फोन गर्दा धेरै सांसदले उठाएनन् । फोन उठाउनेमध्येका अर्का सांसद राम राईले संसदीय दलको बैठक १९ गते भएको बताउनुभयो । सांसद सीता थेबे पनि पाँचथरमा १४ गते पार्टीको कार्यक्रम रहेकोले कार्यक्रममा सहभागी हुन आएपछि नफर्किएको बताउनुहुन्छ ।
तीनै सांसदहरुमध्येका साबित्रा रेग्मी र सरिता थापाले भने संसदीय दलको बैठक तीनपैनीमा बसेको स्वीकार गरे । बैठक कहिले बसेको भन्नेमा उनीहरु पनि अन्योलमा देखिन्थे । केही सांसदले बैठक बिहीबार बिहान बसेको बताए भने केही सांसदले बुधबार बिहान ९ बजे बसेको भनेका छन् ।
यसैबीच प्रचण्ड – नेपाल समूहका नेता तथा नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले प्रदेशसभा सचिवालयमा पेस गर्नु भएको पत्रमा १५ गते बिहान ९ बजे नेकपा संसदीय दलको बैठक बसेर संसदीय दलको नेताको रुपमा शेरधन राईमाथि अविश्वासको प्रस्ताव पारित भएको र रिक्त रहेको संसदीय दलको नेताको रुपमा भीमप्रसाद आचार्यलाई दलको नेता कायम गरिएको उल्लेख छ ।
























