हेटौंडामा कोरोना परिक्षणको एन्टिजेन विधि सुरु

पुष २० हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा कोरोना परिक्षण गर्ने नयाँ विधि सुरु भएको छ । पीसीआर बाट कोरोना परिक्षण गर्ने विधिलाई केही दिन थाती राख्दै एन्टिजेन परीक्षण बिधीबाट कोरोना परिक्षण गर्न लागिएको हो । आजबाट यो बिधीबाट कोरोना परिक्षण सुरु भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

पीसीआर परिक्षण गर्नका लागि भीटीएम पनि सकिएको र यो नयाँ विधि आएकाले यसलाईनै आधिकारिकता दिएर कोरोना परिक्षण गरिने उहाँले वताउनुभयो । एन्टिजेन बिधीबाट बिहान र दिउसोगरी दुइपटक परिक्षण गर्ने व्यावस्था मिलाइएको छ । अहिले तत्कालका लागि ३ हजार जनाको परिक्षण गर्न मिल्नेगरी सामाग्री आइपुगेको चौलागाईले वताउनुभयो ।

पीसीआर परीक्षण गर्न जस्तै एन्टिजेन परीक्षणका लागि पनि नाकबाट स्वाब निकालिन्छ । स्वाबलाई बफरमा मिसाएर टेस्ट किटमा दुई थोपा राखिन्छ । बफरले भाइरसलाई सक्रिय बनाउने काम गर्छ । किटमा राखेको आधा घण्टापछि रिपोर्ट थाहा पाउन सकिन्छ ।

स्वाब राखेको किटमा एउटा धर्को देखिए कोरोना नेगेटिभ र दुईवटा धर्को देखिए पोजिटिभ भएको मानिन्छ । टेस्ट किटमा ‘आर’ र ‘टी’ लेखिएको हुन्छ । ‘टी’ मा धर्को देखिए कोरोना पोजिटिभ भएको प्रमाणित हुन्छ भने ‘आर’ मा धर्को देखिए नेगेटिभ मानिन्छ । कुनै पनि लाइनमा देखिएन भने पुनः स्वाब लिएर परीक्षण गर्नुपर्ने हुन्छ ।समुदायमा कोरोनाका सक्रिय संक्रमित पत्ता लगाउन नमुना संकलन गरी निःशुल्क परीक्षण गर्ने भएको छ ।

सक्रिय संक्रमितको पहिचान नहुँदा थप संक्रमित बढ्न सक्ने प्रक्षेपण भएपछि सरकारले यो नीति अघि सारेको हो ।
सक्रिय संक्रमित पत्ता लगाउन स्थानीय तहसँग समन्वय गरी निःशुल्क परीक्षण गर्न लागिएको हो । सक्रिय संक्रमितको पहिचानमा ढिलाइ हुँदा पछिल्लो समय कोरोनाकै कारण मृत्यु हुनेको संख्या बढेको सरकारको आकलन छ । मृत्युदर घटाउँदै सक्रिय संक्रमितको पहिचान गरी रोग फैलिनबाट जोगाउन एन्टिजेन परीक्षणलाई व्यापक बनाउन लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का निर्देशक डां वासुदेव पाण्डेले बताउनुभयो ।

स्थानीय तहसँग सहकार्य गरी २ लाख ९४ हजार जनाको स्वाब निकालेर एन्टिजेन विधिबाट परीक्षण गर्ने योजना ईडीसीडीको छ । परीक्षण गर्न आवश्यक किटको समेत व्यवस्थापन भइसकेको जनाइएको छ । ईडीसीडीका अनुसार प्रदेश १ मा २६ हजार, प्रदेश २ मा ४८ हजार, वाग्मती प्रदेशमा ३२ हजार ९काठमाडौं उपत्यकाबाहेक०, गण्डकी प्रदेशमा ४६ हजार, लुम्बिनी प्रदेशमा ४६ हजार, कर्णाली प्रदेशमा १० हजार, सुदूरपश्चिम प्रदेशमा २२ हजार जनाको एन्टिजेन परीक्षण गर्न लागिएको हो ।

काठमाडौं उपत्यकामा सबैभन्दा बढी ६४ हजार जनाको परीक्षण हुनेछ । पीसीआर परीक्षण गर्दा बढी खर्च हुने र नतिजा पनि ढिला आउने भएपछि सरकारले टोलटोलमा गएर कोरोना संक्रमण भएरनभएको पत्ता लगाउन लागेको हो । सक्रिय संक्रमितलाई खोजेर व्यवस्थापन गर्नु नै महामारी नियन्त्रणको पहिलो कडी भएकाले परीक्षणको दायरा बढाउन लागिएको ईडीसीडीले जनाएको छ । सक्रिय संक्रमित पत्ता लगाउन नेपालमा दुई विधि स्वीकृत छन्, पहिलो पीसीआर र दोस्रो एन्टिजेन परीक्षण । समुदायमा सक्रिय कोरोना संक्रमित भए पनि आफैं परीक्षण गर्न नआउने र आए पनि ढिला आउँदा समुदायमा थप जोखिम बढेको सरकारको निष्कर्ष छ ।

‘गम्भीर भइसकेपछि अस्पताल आउँदा, समुदायका धेरैलाई संक्रमण सरिसकेको तथा बिरामीकै स्वास्थ्यलाई पनि जोखिम हुन्छ,’ भाइरोलोजिस्टसमेत रहेका डा पाण्डेले भन्नुभयो–, ‘यस्तो समस्या कम गर्न पनि परीक्षण बढाउन लागेका हौं ।’ विज्ञका अनुसार लक्षण देखिएको ५ देखि ७ दिनभित्र भाइरस लोड सबैभन्दा धेरै हुन्छ । यही अवधिमा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यसअघि कन्ट्याक्ट ट्रेसिङ भनेजस्तो नहुँदा समुदायमा संक्रमण फैलिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*