कार्यव्यवस्था परामर्श समितिको बैठकपछि पौडेलविरुद्धको अविश्वास प्रस्तावको निर्णय हुने
पुष २२, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि छलफल र निर्णय हुने भएको छ ।
प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको कार्यसूची अनुसार मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि प्रदेशसभाको बैठकमा छलफल र निर्णयार्थ पेस हुने भएको हो ।
प्रदेशसभामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कै ४५ जना प्रदेशसभाका सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए । यसअघि नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षीय प्रदेशका तीन मन्त्रीले पदबाट राजीनामा दिनएका थिए ।
अविश्वास प्रस्ताव दर्तापछि प्रदेश मन्त्रीपरिषदको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आगामी माघ ७ गते दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक बस्नुअघि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइने जानकारी दिए । उनले कार्यव्यवस्था परामर्श समितिको बैठक आगामी माघ ६ गते बोलाउने गरी छलफल सुरु गरिएको जानकारी दिए ।
























