अदालतलाई अलमल्याउने काम बन्द गर्न चारजना पूर्वप्रधानन्यायाधीशलाई ओलीको चेतावनी
काठमाडौं पुस १५। प्रधानमन्त्री केपी ओलीले अदालतलाई अलमल्याउने काम बन्द गर्न चारजना पूर्वप्रधानन्यायाधीशलाई चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा युवा संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने पूर्वप्रधानन्यायाधीशमाथि आक्रोश व्यक्त गर्दै यस्तो भनेका हुन् ।
प्रधानमन्त्री ओलीले एक पटक अदालतमा जागिर खाएको भरमा यस्तो र उस्तो भन्न नमिल्ने दाबी गर्दै सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित पार्ने र अलमल्याउने काम बन्द गर्न चेतावनी दिएका हुन् ।
उनले स्वतन्त्र न्यायालयको कदर गर्न नजान्नेले न्याय र संविधानको कुरा गर्न नसुहाउनेसमेत बताए । उनले पूर्वप्रधानन्यायाधीशमाथि सडकबाट फैसला हुन्छ कि इजलासबाट भनेर प्रश्नसमेत सोधेका छन् ।
शुक्रबार चारपूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेका थिए । त्यसप्रति आक्रोश व्यक्त गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले पूर्वप्रधानन्यायाधीशलाई अदालतको सम्मान गर्नसमेत आग्रह गरेका छन् ।
शुक्रबार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा ७६ प्रतिनिधिसभा विघटनमा आकर्षित नहुने बताएका हुन्।
पूर्वप्रधानन्यायाधीशको संयुक्त वक्तव्यमा संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनबाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको उल्लेख गरिएको छ।
























