पार्टी एकता अभियानमा वामदेव गौतम

२६ पुष, काठमाडौं । नेकपाका दुवै खेमामा नलागेका नेता वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन्। गौतमले शनिबार आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोस्टर छापेर बाँड्न अपिल गरेका हुन्।

पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर आफूले दुवै समूहलाई समर्थन नगरी अभियानको संयोजक बनेर अगाडि आएको गौतमले वक्तव्यमार्फत जनाएका छन्। ‘एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोस्टर छापेर बाँड्नुहोस्। यसो गर्नुभयो भने प्रिय कमरेडहरू हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरूलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनर्एकीकरण गर्न सकिनेछ’, गौतमले वक्तव्यमा भनेका छन्।

सरकारले एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद र पीडादायी भएको वक्तव्यमा उल्लेख छ। गौतमले नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा रहेको पार्टी पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरूको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु शीर्षस्थ नेताहरूको अयोग्यताको द्योतक भएको जनाएका छन्। उनले विभाजन रोक्न नसके नेपाली जनताले कहिल्यै माफी नदिने चेतावनी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*