मकवानपुरगढीमा भूकम्पले भत्काएको शारदा मावि अझै बनेन, टहरामा पढ्दै विद्यार्थी
मकवानपुर, ५ माघ । महाविनाशकारी भूकम्पका कारण मकवानपुर जिल्लाका केही विद्यालय भवनहरुमा निक्कै क्षति पुगेको थियो । उक्त विद्यालयहरुमध्ये केही विद्यालयहरुको पूननिर्माण समेत भईसकेको छ ।
भूकम्प गएको धेरै वर्ष बितिसक्दा पनि विद्यालय पूननिर्माण सम्पन्न नहुँदा मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा अवस्थित एक विद्यालयका विद्यार्थीहरु टहरामा बसेर अध्ययन गर्न बाध्य भएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित श्री शारदा माध्यमिक विद्यालयको भवन निर्माण कार्य ढिला भएका कारण विद्यार्थीहरु अस्थायी टहरामा बसेर अध्ययन गर्न बाध्य भएका हुन् ।
५ वर्ष अघिको भुकम्पबाट भत्किएको विद्यालयको पुननिर्माणमा ढिलाई हँुदा विद्यार्थीहरुको अध्ययन र भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ ।उक्त विद्यालय २०७६ साल भित्रमा पुन निर्माण गरेर सक्नु पर्ने सरकारी योजना भएतापनि आजसम्म पनि यो विद्यालय निर्माण सम्पन्न हुनसकेको छैन । नेपाल सरकार र जापान सहयोग नियोगको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७४–७५ देखि निर्माण कार्य सुरु भएपनि विद्यालय भवनको निर्माण कार्य अझै सम्पन्न हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दंगालले बताउनुभयो । लामा जेभी भ्याली कम्पनीले निर्माणको जिम्मा लिएको र १५ जना कामदार खटाउँदा पनि काम सम्पन्न नभएकोे बताएका छन् ।
५ करोड ९१ लाख रुपैयाको लगानीमा १६ कोठाको विद्यालय भवनमा १२ कोठा विद्यार्थीको अध्ययनका लागि कक्षाकोठा र बाँकी ६ कोठा प्रशासकिय भवन निर्माण गर्ने योजना रहेको थियो । जसअनुसार हालसम्म विद्यालय भवन लगभग ८५ प्रतिशत निर्माण भएको र बाँकी १५ प्रतिशत बाँकी नै रहेको खनालले बताउनुभयो ।
विद्यालय भवनमा वायरिङ, खानेपानीको कार्य र रङरोगन लगाएतको को कार्य बाँकी रहेको दंगालले बताउनुभयो । लामा जेभी भ्याली कम्पनीको परियोजना प्रबन्धक सुबोध पन्डितका अनुसार लकडाउनको कारण काममा ढिलासुस्ती भएको हो र अबको बढिमा ४५ दिन लाग्ने पन्डितको भनाइ छ ।
भवन बनिसकेको अवस्थामा पनि बाँकी रहेका कामहरु नभएकोले विद्यार्थीहरु अस्थायी टहरामा नै बसेर अध्ययन गरिरहेका छन् । ठेकदारको लापरवाही भएको र बेलैमा कामदार राख्न नसकेकोले विद्यालय निर्माण ढिला भएको शिक्षकहरुको पनि गुनासो रहेको छ । अझै पनि उक्त कार्य निर्माणमा आउन केही समय लाग्ने र सो भवन निर्माण पछि गाउँपालिकाले स्नातक सुरु गर्ने योजना गरेको छ ।
१८ महिना भित्र निर्माण गरिसक्ने सम्झौता भएपनि निर्माण कार्य सुरु भएको ३ बर्ष बितिसक्दा पनि भवन निर्माण सम्पन्न नभएकोमा शिक्षक र विद्यार्थीहरु आक्रोसित बनेको छन् । विद्यालय भवन पूर्णरुपमा तयार नभएपछि विद्यार्थीहरुलाई अध्ययनका लागि धेरै समस्या भएको र कक्षा कोठाको अभावले बाहिर बसेर पढाउनु पर्ने आवस्था रहेको छ ।
जाडो महिनामा पनि १,२ कक्षाको विध्यार्थीजहरु समेत बरन्डामा बसेर पढून बाध्य रहेको अध्यक्ष दंगालले बताएका छन् । विद्यालय भवन छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न विद्यार्थी र शिक्षकहरुले माग समेत गरेका छन् । कामलाई निरन्तरता दिएर छिटै निर्माण कार्य सकाउनु पर्ने अध्यक्ष दंगालको बताएका छन् ।
























