आज सर्वोच्चमा नेकपाको नामसम्बन्धी मुद्दामा सुनुवाइ
काठमाडौं, माघ ६ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ तोकिएको छ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर तीन वर्ष अघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। अहिले यो नेकपा (ओली) र नेकपा (प्रचण्ड नेपाल) मा विभाजन भएको छ।
तीन वर्ष अघि एकीकरण हुँदा ऋषिराम कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता थियो। तर, आयोगले एउटा पार्टी दर्ता हुँदाहुँदै फेरि अर्कोलाई नाम दिएको थियो।
यसका विरुद्ध नेकपा अध्यक्ष कट्टेलले सर्वोच्च अदालतमा २०७५ मंसिर २१ गते रिट दायर गरेका थिए। त्यसमा सर्वोच्च अदालतले २०७५ मंसिर २५ गते कारण देखाउ आदेश दिएको थियो। त्यसयता पटकपटक पेशी तोकिएको भएपनि सुनुवाइ हुनसकेको छैन। दुई पटक हेर्न नभ्याइने सूचिमा परेको थियो भने तीन पटक स्थगित गरिएको थियो।
आज फेरि यहि मुद्दामा सुनुवाइ तोकिएको हो। सर्वोच्च अदालतले जारी गरेको दैनिक पेशी सूचिमा यो मुद्दा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पेशी तोकिएको उल्लेख छ। ओली र प्रचण्डनेपाल समूहले नेकपा र सूर्य चिह्न आआफ्नो दाबी गरिरहेका वेला यस मुद्दालाई चासोका साथ हेरिएको छ।
























