शिक्षकको हत्या गर्ने विप्लव कार्यकर्ता पेस्तोलसहित पक्राउ
माघ ८ – मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न एक जना विप्लव माओवादीका नेतालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई हतियारसहित बुधबार पक्राउ गरेको हो।
मोरङ बुढीगंगा गाउँपालिका–४ मा स्थित औद्योगिक क्षेत्रबाट विकलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए। ‘उद्योगी व्यवसायीलाई धाकधम्की दिई चन्दा मागिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको हो। संखुवासभा साबिक मादी गाविस रामवेनी-७ हाल मादी नगरपालिका-४ ओखरबोटे बस्ने ३२ वर्षीय विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल बरामद गरेको छ।
प्रहरी उपरीक्षक खड्काका अनुसार विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका-१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न छन्। श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो। त्यो घटना अनुसन्धान सिलसिलामा प्रहरीले उनी संलग्न रहेको यसअघि नै पत्ता लगाएको थियो।
‘मृतकको लाश सनाखत गर्ने क्रममा शिक्षकलाई घरबाट अपहरण गरी लैजाँदा उनी पनि थिए भन्ने छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘शिक्षक हत्यामा संलग्न को-को थिए भन्ने विस्तृत अनुसन्धानका लागि बाटो पनि खुलेको छ।’
























