चालकसंग घुस रकम लिने तीन जना प्रहरी निलम्बन

माघ ८, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा द्वारा चालकसंग घुस रकम लिने तीन जना प्रहरीलाई निलम्बन गरेको छ । प्रहरीको आन्तरिक शुद्दिकरण अभियान अन्तर्गत प्रहरी कर्मचारीलाई निलम्बन गरीएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका बरिष्ठ प्रहरी उपरिक्षक मिरा चौधरीले वताउनुभयो ।

आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारीहरुलाई निलम्बन गरीएको हो । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई यही माघ ६ गते नियन्त्रणमा लिएको थियो ।

चितवन जिल्लाको नारायणगढ, पुल्चोक भई राजमार्गमा चल्ने बस, मिनिबस, माईक्रोबस व्यवसायीका दलालहरू मार्फत नारायणगढ पुल्चोकमा डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुले पैसा लिने गरेको भन्ने प्राप्त सुचनाको आधारमा प्रहरीको संलग्नता बारेमा अनुगमन एवं अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी खटिएको थियो ।

प्रदेश प्रहरीले सम्बन्धीत स्थानमा स्थलगतरुपमा खटिई गएका प्रहरी अधिकृतको टोलीले डिउटीमा खटिएको अवस्थामा यातायात व्यवसायीका दलालहरू मार्फत भरतपुर महानगरपालिका वडा नंम्बर १ पुल्चोक स्थित कालीगण्डकी कोल्ड स्टोर ९पान पसल० बाट अबैध रकम लिदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

प्रहरीको नाममा पैसा उटाउने कार्यमा संलग्न ५ जना व्यक्तिहरु समेतलाई नियन्त्रणमा लिई हिजोबाट अभद्र व्यवहार अन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रबक्ता चौधरीले वताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोक बहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्ण सिंह रस्मी मगरलाई नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरीएको उहाँले वताउनुभयो ।

निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक सुरेश प्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ । आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टास्क फोर्स गठन गरीएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*