प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ जारी

माघ ८, काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी छ ।

रिट निवेदकका तर्फबाटअधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेर आजको सुनुवाइको सुरूवात गरेका छन् । अधिवक्ताहरूले बहस लम्ब्याएपछि बुधबारबाट एक जनालाई आधा घण्टाभित्र बहस सक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले रूलिङ गरेका छन् । योसँगै सुनुवाइले गति पनि लिएको छ । बुधबार एकै दिन ८ जनाले बहस गरेका थिए । त्यसअघि समय किटान नगरिँदा एकै जनाले पाँच घण्टासम्म बहस गरेपछि सुनुवाइले गति लिन सकेको थिएन ।

सर्वोच्च अदालतका अनुसार प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबारसम्म १८ जनाले मात्रै बहस गरेका छन् । यो रिटमा बहस गर्न ३ सयभन्दा बढी अधिवक्ताले वकालतनामा लेखाएका छन् । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको भोलिपल्ट सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

रिट निवेदकहरूले नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*