नेकपा मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा घिमीरे
माघ १०, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा नेकपाले नयाँ नेतृत्व चयन गरेको छ । पार्टी गाउँ कमिटीको विस्तारित बैठकले नयाँ अध्यक्ष चयन गरेको हो ।
बैठकले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्षसमेत रहेका जीतबहादुर घिमीरेलाई अध्यक्ष चयन गरेको नेकपा मकवानपुरकी युवा नेता रमिला घलानले जानकारी दिईन् । सिताराम तिमल्सिनाको अध्यक्षतामा शुक्रबार भएको गाउँपालिका स्तरीय भेला तथा विस्तारित बैठकले यसअघिका अध्यक्षलाई पदमुक्तगरी नयाँ नेतृत्व चयन गरेको हो ।
विस्तारित बैठकलाई सम्बोधन गर्दै नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले अस्थिर मानसिकताका प्रचण्ड र कुण्ठाग्रस्त माधव नेपालका कारण नेकपा मात्रै हैन देशनै संकटमा परेको यथार्थ सबैले बुझनुपर्ने बताए ।
अध्यक्ष श्रेष्ठले पद ओगटेर काम नगर्नेहरुलाई विस्थापित गर्दै सक्षम व्यक्तिहरुलाई नेतृत्व हस्तान्तरण गर्ने पार्टीको योजनाअनुरुप जीतबहादुर घिमिरेलाई अध्यक्षको जिम्मेवारी दिइएको दावी गरे ।
गाउँपालिकाका हरेक वडाबाट दुई–दुई जना प्रतिनिधिहरुको सहभागितामा रहेको विस्तारित बैठकमा नेकपा मकवानपुरका नेताहरु मेम्बर लो, हरि कडेंल, कृष्ण लम्साल, कृष्ण ढुंगाना,फणिन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
























