पशुपति क्षेत्रमा मोबाइल चोरीको आरोपमा कुटपिट गरी हत्या
माघ १२, काठमाडौँ –कर्तव्य गरि हत्या गरेको अभियोगमा पशुपति क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा श्रीपुरका ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भई बालाजु बस्ने २४ वर्षीया अनु थापा छन्। रविकी श्रीमती ३६ वर्षीया बवितादेवी चौधरीको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।
चार दिनअघिको घटनामा अनुले बबितालाई मोबाइल चोरी गर्ने अभियोगमा कुटपिट गरेकी थिइन्। सोही कुटपिटबाट घाइते भएकी बबिता आफू बस्ने पशुपतिनाथको राम मन्दिरमा बितिन्। उनको शनिबार नै मृत्यु भएको थियो।यो घटनापछि रबि र अनुले उनको शव अन्त्येष्टि गर्न खोजे। आइतबार मृत्यु भएकै ठाउँमा बबिताको शव जलाएको पाइएपछि दुवैलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार सुरूमा रविले खाल्डो खनेर श्रीमतीको शव पुर्न खोजेका थिए। तर, त्यो कुरा सम्भव नभएपछि उनले मृत्यु भएकै ठाउँमा शव जलाएका थिए। जलाएको शवको केही भाग मात्र फेला पारिएको बस्नेतले जानकारी दिए। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
‘कुटपिटबाट बबिताको टाउको र अनुहारमा चोटपटक थियो, उनको उपचार भएन, शनिबार उनको मृत्यु भएको थियो,’ बस्नेतले भने।
























