माघ २८ को शक्ति प्रदर्शनलाई  ठूलो बनाउने प्रचण्ड – नेपाल समूहको दाबी

१५ माघ, काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको आन्दोललाई अझै सशक्त बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको संघर्ष समितिको सचिवालय बैठकले ओलीले चाल्ने जुनसुकै कदमको पनि प्रतिवाद गर्ने निर्णय गर्दै त्यसको निर्देशन समेत दिएको हो माघ २८ गते काठमाडौंमा तय भएको सभालाई हालसम्मकै ठूलो बनाउन कार्ययोजना बनाएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिनुभयो।

बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ,रिजालले ट्वीट गर्दै भनेका छन्। माघ १२ मा बसेको स्थायी कमिटीको बैठकले तेस्रो चरणको आन्दोलन घोषणा गरेको थियो। आजको संघर्ष समितिको सचिवालय बैठकले हालसम्मका आन्दोलनका कार्यक्रमबारे समीक्षा गरेको थियो।

बैठकले संसद विघटन गर्ने ओलीको कदमबिरुद्ध देशब्यापी जागरण पैदा गरेको निष्कर्ष निकालेको छ। तेस्रो चरणको संघर्षका कार्यक्रम अन्तर्गत प्रचण्ड-नेपाल समूहले काठमाडौं लगायत बुटवल, विराटनगर र धनगढीमा पनि जनसभाको आयोजना गरेको छ।

प्रतिनिधिसभा विघटनपछि नेकपामा राजनीतिक रुपमा विभाजन भएको छ। ओली र प्रचण्ड – नेपाल दुवै समूह एक अर्काविरुद्ध शक्ति प्रदर्शनमा उत्रिरहेका छन्। ओली समूहले पनि काठमाडौंको २३ गतेका लागि तय भएको प्रदर्शनलाई अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने दाबी गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*