बसमा आगलागी हुँदा ५३ को मृत्यु
माघ १५ – यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ जनाको मृत्यु भएको छ।
पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन्। ‘दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न सकिएको छैन,’ स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने।
देशको मध्यपश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको समाचारमा जनाइएको छ। सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ।
























