सर्वोच्चमा दर्ता भएका अवहेलना मुद्दाको सुनुवाइ
काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतमा दर्ता भएका अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व–प्रधानन्यायाधीश र पूर्व–सभामुख दमननाथ ढुंगानाविरुद्ध परेका पाँचवटा अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको हो । ती पाँच वटै मुद्दाको पेशी तोकिएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुईवटा र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध एउटा मुद्दा दर्ता भएको थियो । वरिष्ठ अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराउनु भएको थियो । मंगलबार नै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट दर्ता गराउनु भएको थियो ।
बुधबार अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्व–प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की र अनुपराज शर्माविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराउनु भएको थियो । आज यी सबै मुद्दा मनोज शर्माको इजलासमा तोकिएको छ ।
गत पुस २४ गते पूर्व–प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको बताउनु भएको थियो । यता, प्रधानमन्त्री ओलीले माघ नौ गते सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा बहस पैरवी गरिरहेका कानून व्यवसायीमाथि व्यंग्य गर्नुभएको थियो ।
यस्तै, पूर्व–सभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतले सदर गरिदिए अदालतबाटै न्यायाधीशहरुलाई थुत्न सक्ने अवस्था आउने बताउनु भएको थियो ।
























