दाहाल–नेपाल समूहले आयोगसँग थप समय माग्यो

माघ १६, काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल काठमाडौंबाहिर रहेकाले उपस्थित हुन नसकेको जानकारी गराएको छ ।

आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएको थियो । दाहाल–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र कानुन व्यवसायी मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय उपस्थित हुन नसक्ने जानकारी गराएका हुन् । दाहाल–नेपाल समूहले आयोगलाई बुझाएको पत्रमा पुन अरू नै कुनै मिति तोकेर छलफलका लागि बोलाउन आग्रह गरिएको छ ।

‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयं उपस्थित भई छलफल गर्न चाहनुभएको हुँदा सोको लागि आज तोकिएको समयमा सम्भव हुन नसकेको बेहोरा अवगत गराउँछु,’ पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

नेता पोखरेलले आयोगले दुवै अध्यक्ष उपत्यकाबाहिर रहेकाले अध्यक्षहरु छलफलमा उपस्थित हुन नसकेको जानकारी गराउँदै केही दिन समय दिन आग्रह गरिएको बताए । ‘निर्वाचन आयोगले अर्को पक्ष आइसकेको भन्दै उहाँहरुसँग छलफल गर्ने र हाम्रो पत्रबारे पनि जानकारी गराउने जनाएको छ,’ उनले भने ।

ओली समूहका नेता भने छलफलका लागि आयोगको कार्यालयमा पुगिसकेको छ । आयोगले दुवै पक्षलाई छलफलमा उपस्थित हुन भन्दै माघ १४ गते पत्र पठाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*