प्रचण्ड–माधव पक्षलाई झड्का दिन ओलीको नयाँ रणनीति
१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओली राजनीतिक रुपमा कमजोर देखिन थालेपछि रणनीतिक ढंगले अगाडि बढ्ने संकेत मिलेको छ ।
खासगरी पार्टी विभाजन भएपछि बहुमत आफूविरुद्ध देखेका ओलीले प्रचण्ड–माधव पक्षलाई झड्का दिन नयाँ रणनीति अघि सारेका छन् । हिजोसम्म माओवादीलाई सत्तोसराप गर्ने ओली पछिल्लो अवस्थामा प्रचण्डका पूर्व सहयोद्धाको मन र विश्वास जित्न अग्रसर भएको पाइन्छ । त्यसैले उनले मन्त्रिमण्डल पुनर्गठन गर्दा पूर्व माओवादी पक्षलाई खुलेर भित्र्याए । प्रचण्डसँग मतभेत बढाउन उनले छानी छानी मन्त्री बनाएका छन् । यतिले मात्र नपुगेर उनी अयोग्य ठहर भएका पूर्व लडाकू भित्रसमेत खेल्न थालेका छन् ।
प्रचण्डले वास्ता नगरेको भन्दै सबैको अभिभावक बन्न आफू तयार रहेको ओलीले उनीहरुलाई सरकारी निवासमै डाकेर भने । प्रचण्डसँगको दूरी बढाउने उनको रणनीति फेरि विप्लब समूहसँग नरम नीति लिएर थालेका छन् । यसका लागि गृहमन्त्रीसमेत रहेका पूर्व माओवादी नेता रामबहादुर थापा बादललाई ओलीले बलियो हतियार बनाएका छन् । बादलले गएको साता नै विप्लब समूहसँग वार्ता गर्न चाहेको बताइसकेका छन् ।
यसै प्रयोजनका लागि उनले गोप्य रुपमा विप्लव समूहसँग छलफल चलाएको स्रोतले बताएको छ । यद्यपि सरकारले आधिकारिक रुपमा भने यसबारे केही बोलेको छैन । तर स्रोत भन्छ– कुरा सकारात्मक छ , विप्लबमाथि लागेको प्रतिबन्ध फुकाउनेबारे छलफल चलिरहेको छ । प्रधानमन्त्री ओली आफैं यसका लागि सकारात्मक रहेको बुझिएको छ ।
प्रधानमन्त्रीको यस्तो सकारात्मक सोच एउटा कुटील चाल मात्र हो–प्रचण्ड निकट एक नेताले भने–ओलीको चालमा अब फस्नेहरुले निकास पाउन सक्ने देखिंदैन । राजनीतिक रुपमा कमजोर देखिएका ओलीले जस्तोसुकै कदम चाल्ने भएकाले यो पनि त्यसैको एउटा रणनीति मात्र भएको ती नेताको ठम्याई छ । प्रचण्डलाई कमजोर देखाउन मात्रै ओलीले विप्लबसँग वार्ताको नाटक गरेको हुनसक्ने उनले बताए ।
ओली सरकारले २०७५ साल फागुनको अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको हो । सरकारले त्यसयता विप्लब समूहविरुद्ध सर्च एण्ट अरेस्ट अपरेसन चलाउँदै आएको छ । सोही बमोजिम अहिले करिब दुई हजार नेता कार्यकर्ता पक्राउ परेका छन् । सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलासमेत अहिले प्रहरी हिरासतमा रहेका छन् । विप्लव भने विगत तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
























