जसपा नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरे

२० माघ, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

महोत्तरीका यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आबद्ध भएको उनले बताए ।

यावदले नेकपा प्रवेश गर्नुको कारण यसरी सुनाए 

राजनीतिक विषयमा कुरा गर्दा संविधान सभामा रहेर मैले जेजति कुरा गरेँ वा जुन हिसाबले पछिल्लो दशकमा मुलुकको लागि मैले योगदान गरेँ अहिले प्राप्त भएको राजनीतिक उपलब्धिमा मेरो पनि कुनै न कुनै योगदान छ ।

त्यसैले अहिलेको यो उपलब्धिलाई संस्थागत गर्दै यसको भावना अनुसार मुलुकलाई अघि बढाउने मेरो मुख्य उद्देश्य हो । हामीले संविधान बनाउँदै गर्दा स्थिरताको पक्षमा जति विषय उल्लेख गरेका थियौं त्यसलाई खलबल्याउने हिसाबले दुराशय राखेर अहिले व्यवहार गरिँदैछ । जसले गर्दा अहिलेको वातावरण सिर्जना भएको हो ।

संसद भंग भयो, यो विषय अदालत गयो । त्यसलाई अदालतको आदेश आउँदासम्म त कुर्न सकिन्थ्यो नि । तर अस्थिरतालाई निम्ता दिनेगरी अदालतमा प्रवेश गरेको विषयलाई उछाल्न थालियो । यो पनि संविधानको स्पिरिटभन्दा बाहिरको कुरा हो ।

अहिलेको उपलब्धि कायम गर्नको लागि अहिले जुन बहस चलिरहेको छ । त्यसले देशलाई फेरि अस्थिरताको भूमरीमा लैजान्छ भन्ने मेरो बुझाइ हो । तर म जुन पार्टीमा थिएँ । सो पार्टीले अस्थिरता सिर्जना गर्ने र जनतालाई झुक्याउने काम धेरै गरेपछि म उक्त पार्टीको विकल्प खोज्न बाध्य भएको हुँ । झुक्याउने काम भनेको यस अर्थमा कि संविधान बनाउने बेलामा मधेशका दलहरुले नै संविधान मान्दिन भनेकै हो । तर त्यही संविधान अनुसार मन्त्री पाएपछि त उनीहरुले संविधान अघोषित रुपमा भने पनि स्वीकारेकै हुन् ।

त्यो त जनता झुक्याउने विषय भएन र रु अहिले उहाँहरु नै संविधानको रक्षाको लागि भनेर संघर्षमा हुनुहुन्छ । जसले सुरुदेखि नै संविधानको विरोध गर्‍यो । अवसर पाएपछि त्यही संविधानबाट पद पनि लियो । अहिले संविधानको रक्षाको लागि भनेर संघर्ष पनि गरिरहेको छ, यी सबै पाच्य भएन र मैले पार्टी छाडेको हुँ । अहिलेको समसामयिक राजनीतिक परिवेशलाई हेर्दा नयाँ चुनावको घोषणा भएको छ । जुनसुकै विषयमा पनि मान्छेको सहमति र विमतिहरू हुन्छन् । सहमति र विमतिको छिनोफानो गर्ने त निर्वाचनबाटै त हो । यसलाई प्रधानमन्त्रीज्यूले पनि राजनीतिक विषय भनिसक्नु भएको छ ।

म पहिले पनि तत्कालीन एमाले पार्टीमा नै थिएँ । अहिले पार्टीको नाम परिवर्तन भयो । तर म पुरानै पार्टीमा फर्किएँ । म कुनै पनि व्यक्तिगत स्वार्थ पूर्तिको लागि यो पार्टीमा प्रवेश गरेको होइन । म मन्त्री बन्न भनेर यहाँ आएको पनि होइन । प्रधानमन्त्रीज्यूसँग यस्तो विषयमा कुनै सहमति भएको पनि छैन । मेरो राष्ट्रिय स्वार्थ छ । शान्ति सुव्यवस्था र स्थिरताको लागि मैले यो पार्टी रोजेको हुँ । मेरो एजेण्डा पनि त्यही हो । त्यसैले म कुनै व्यक्तिगत स्वार्थको लागि नेकपामा आएको होइन ।

भोलि मलाई पार्टीले चुनावमा टिकट नै नदिई चुनावमा सहयोग गर्न भन्न पनि सक्छ, मलाई त्यो पनि स्वीकार्य छ । यस विषयलाई अतिरञ्जित गरिरहनु आवश्यक छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*