प्रदेश–१ को सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आज
माघ २५, काठमाण्डौ –प्रदेश–१ को प्रदेशसभाको सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यही माघ ७ गते केही मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको हो । बैठकअघि बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।
आजको बैठकमा नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी गरेका छन् । मख्यमन्त्री राईको कारबाहीमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा उपस्थित हुन नदिने रणनीतिमा ओली समूहका प्रदेश सांसदहरु रहेका छन् ।
गएको पुस १२ गते नेकपाको प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अहिले नेकपा प्रचण्ड–नेपाल समूहको प्रदेश–१ को संसदीय समितिको बैठक बसिरहेको छ ।
























